७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग

१९ जेठ, डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो ।

जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’कालागि रु दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाकालागि रु एक लाखसहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिनुभयो ।जिल्लाका युवा अभियानकर्मीहरुले शुरु गरेको आर्थिक सङ्कलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ ।

विपन्न सङ्क्रमित नागरिकका लागि अक्सिजन सिलिण्डर,औषधि, मास्कलगायतका महत्वपूर्ण सामग्री खरिदकालागिसहयोग गरेको भन्दै उहाँप्रति युवा अभियानकर्मीहरुले आभार व्यक्त गरेकाछन् ।दुई सामाजिक संस्थाले शुरु गरेको आर्थिक सङ्कलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल,स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको बताउनुभयो ।

प्रकाशित मिति : June 2, 2021 at 11:30 am