काेराेनाविरूद्धकाे नेपाल र चीनका राजनीतिक पार्टीबीच भर्चुअल बैठकमा कसले के भने ?
१२ जेठ, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । कोभिड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुवल अन्तरक्रियामार्फत नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीसँग थप खोप तथा स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभएको छ । सीपीसीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा बुधबार भएको भर्चुवल अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड – १९ संक्रमणको सम्बन्धमा चिन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गर्नुभएको छ । बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलहरुसँग महामारीको बेला संयुक्त अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चिन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो । चिनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उहाँले प्रशंसा गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताउनुभयो । नेपालको हिमाल, नदी र संस्कृतिसँग दुईदेशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चिन नीतिमा प्रतिबद्ध रहेको पनि बताउनुभयो । नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले महामारी नियन्त्रणमा चिनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताउनुभयो । चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दे महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि खोप लगायत स्वास्थ्य सामाग्रीमा चीन सरकारले गरेको सहयोगको प्रसंम्सा गर्नुभयो । उहाँले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो ।
उहाँले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको काम कम प्रभावित होस् भन्नेमा ध्यान पु¥याएको र काम जारी राखेको बताउनुभयो । चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष वितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताउनुभयो ।
प्रकाशित मिति : May 26, 2021 at 3:46 pm





