काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो, खाद्यान्न र तरकारी पसल पनि बन्द हुने
११ जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । आज बसेको उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।
प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौँ उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।
काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।
अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न र किनबेच गर्न दिइएको छ । अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने भएको छ ।
प्रकाशित मिति : May 25, 2021 at 5:43 pm



