२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सामान्य औषधिबाटै संक्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी


– अशोक घिमिरे

९ जेठ, काठमाडौँ । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ । पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको र बढी सङ्क्रामक रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले सङ्क्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् । सङ्क्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट सङ्क्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् ।

नयाँ भेरियन्टको सङ्क्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय सङ्क्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् ।

औषधि र उपचार पद्धति फेलापरिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहनुभएका डा संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहनुभएको छ ।

उहाँका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट ९लोनिड १०००, डेक्जामेथासोन ट्याब्लेड ९डेक्जिन० र फामोटिडाइन ट्याब्लेड ९फाम–४०० प्रयोग गर्न सुझाइरहनुभएको छ ।

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उहाँ बताउनुहुन्छ ।

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा ह्योजुको सल्लाह र उहाँले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउनुहुन्छ । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उहाँहरुले डा ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थाल्नुभयो र त्यसैबाट कोरोना वीषाणुको सङ्क्रमणलाई जित्न सफल हुनुभयो । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त हुनुभयो र त्यसपछि परिवारजनको स्याहारमा उहाँ लाग्नुभयो । बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

डा ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दै हुनुहुन्छ । कोरोना भाइरसमाथि गर्नुभएको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा ह्योजुले यी औषधिको सिफारिश गरिरहनु भएको छ जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन ।

डा ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहनुभएको छ । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा ह्योजुको दावी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १४:५९