चलचित्र निर्देशक पौडेलद्वारा पत्रकार महासंघ एशोसिएट प्रदेशलाई सहयोग
५ जेठ, काठमाडाैँ । कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि महासंघ एसोसिएट प्रदेशलाई चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएकाे छ। अमेरिकामा रहनुभएका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गर्नुभएकाे हाे ।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणमा परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोग गर्नुभएकाे पौडेलप्रति आभार व्यक्त गर्नुभएकाे छ। ‘समग्र सञ्चारकर्मीको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भन्नुभयाे, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ।’
उहाले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताउनुभएकाे छ। कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुग्नुभएका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय रहनुभएकाे छ । उहाले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसक्नु भएकाे छ । पौडेल पेसाले सञ्चार उद्यमी पनि हुनुहुन्छ। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा संगठन आबद्ध छन्।
प्रकाशित मिति : May 19, 2021 at 3:19 pm



