नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु
४ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राजभरकाे उपचारको क्रममा मृत्यु भएको हाे । सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे । बुधबार बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई सशस्त्र प्रहरीले रोकेको थियो ।
त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ । स्थानिय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो । जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : May 19, 2021 at 1:59 pm



