१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बेलकोटगढी नगरलार्इ बाजागाजासहित खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरियो (फोटोफिचर)

२२ असार, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिकालाई बिहीबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । बेलकोटगढीको घोषणाले जिल्लाका सबै स्थानीयतह खुला दिसामुक्त र १२ मध्ये सात स्थानीयतह पूर्ण खोपयुक्त घोषणा भएका छन् । बेलकोटगढी नपाको केन्द्र बाघखोरमा आयोजित कार्यक्रममा नगरभित्रका नौ हजार ८३ परिवारमध्ये सबैको घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभयो ।

स्वास्थ्य कार्यालयको तथ्यांकको आधारमा नगरमा रहेका सबै बालबालिका तोकिएको खोपको पहुँचमा रहेको प्रतिवेदनअनुसार पूर्णखोपयुक्त भएको घोषणा गरिएको हो । प्रतिनिधिसभा सदस्य खतिवडाले नगरवासी सभ्य समुदायतर्फ उन्मुख भएको सन्देश घोषणा कार्यक्रमले दिएकाले आगामी दिनमा विकासका थप गतिविधितर्फ लाग्न सुझाव दिनुभयो । नगरका प्रमुख राजेन्द्ररमण खनालले विनाशकारी भूकम्पका कारण निजी आवासमा पु¥याएको क्षतिले त्यसको पुनःनिर्माण जारी रहँदा घोषणा कार्यक्रम केही ढिलाइ भएको बताउनुभयो ।

खनालका अनुसार सबैका घरमा पक्की शौचालय निर्माण भएकाले अब ‘एक घर, एक धारा’ सार्वजनिक शौचालय, ढलनालीको उचित व्यवस्थापन तथा फोहरको सुरक्षित स्थानमा विसर्जनका कार्यक्रम अवलम्बन गर्न लागिएको छ । बेलकोटगढीसँगै जिल्लाका सबै स्थानीयतह खुला दिसामुक्त क्षेत्र घोषणा भएकाले यो महिनाभित्रै सिंगो जिल्ला घोषणा गर्ने तयारीमा लागेको जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् जिसस प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

   

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १४:३५