८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

अनेमसंघले मनायाे २८औँ मदन-आश्रित स्मृति दिवस

३ जेठ, काठमाडाैँ । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले २८औँ मदन-आश्रित स्मृति दिवस मनाएकाे छ । अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले मदन भण्डारी स्मृती पार्कमा सामाजिक दुरी कायम राख्दै  स्मृति दिवस मनाएको हो ।

मदन आश्रित स्मृति दिवसमा कोटेश्वर स्थित मदन भण्डारी स्मृती पार्कमा भब्य रुपमा औपचारीक कार्यक्रम हुन्थे । तर महामारीका कारण मदन भण्डारीको भब्य शालिक रहेको पार्क सुनसान थियो । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ (अनेमसंघ) ले भने औपचारीक कार्यक्रम मदन भण्डारी स्मृती पार्कमै मनाएको छ ।

सामाजिक दुरी कायम राख्दै अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस भौतिक उपस्थितीमै मनाएको हो । भण्डारीको शालिकमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्यलगायत अनेमसंघका नेताहरुले सम्मान ब्यक्त गर्नुभयो ।

सोही अवसरमा नेकपा एमालेको सांसद समेत रहनुभएको शाक्यले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्का पुगेको बताउनुभयो । अनेमसंघले महामारीका कारण देशब्यापी भौतिक उपस्थितीमा कार्यक्रम गर्न नपाएपनि भर्चुअल कार्यक्रम गर्न निर्देशन दिएको छ । ५ गतेदेखि ११ गतेसम्म साप्ताहिक कार्यक्रम चलाउन निर्देशन छ ।

विज्ञप्तिमा निर्देशन दिँदै भनिएको छ, अनेमसंघको वार्षिक नियमित कार्यक्रम अन्तर्गत गरिने मदन–आश्रित स्मृति दिवसलाई जेठ ५ गतेदेखि ११ गतेसम्म साप्ताहिक रुपमा ‘जनताको वहुदलीय जनवादः नेपाली महिला आन्दोलनको उपलब्धीहरू र भावी कार्यदिशा’ विषयमा केन्द्रित भई भर्चुयल गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बार्षिक कार्ययोजना अनुरुप सबै प्रदेशमा आयोजना गरिने कार्यक्रमको संयोजन गर्नका लागि विशेष निर्देशन गर्दछ ।

यसैगरी प्रदेश मातहतका कमिटीहरुमा पनि अनुकूलता अनुसार मनाउनका लागि विशेष निर्देशन गर्दछ । अनेमसंघले आज भर्चुअल माध्यमवाट अन्र्तक्रिया कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । दिउँसो २ बजे श्रद्धाञ्जली कार्यक्रम राखिएको सचिव शाक्यले जानकारी दिनुभयो ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको कास्की जिल्लास्तरीय भेला तथा प्रशिक्षणको कार्यक्रम सकेर २०५० जेठ २–४ गतेसम्म चितवनको चैनपुरमा अनेमसंघ केन्द्रीय केमिटीद्वारा आयोजित ‘राष्ट्रिय महिला भेला तथा प्रशिक्षण’ कार्यक्रमलार्ई सम्वोधन गर्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : May 17, 2021 at 1:18 pm