चेतन कार्कीको निधनबाट गीत, संगीतको क्षेत्रमा अपुरणीय क्षतिः मन्त्री ढकाल
२ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले संंस्कृतिवद् चेतन कार्कीको निधनले गीत, संगीतको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । अाइतबार एक शोक वक्तव्य प्रकाशित गर्दै मन्त्री ढकालले कार्कीको निधनमा गहिरो दुःख प्रकट गर्नुभयो ।
उहाँले कार्कीको निधानमा दिनुभएको शोक वक्तव्य यस्तो छ
नेपाली चलचित्र क्षेत्रका अग्रज गीतकार, लेखक, निर्देशक, साहित्यकार एवम् संस्कृतिविद् चेतन कार्कीको उपचारको क्रममा सैनिक अस्पताल, छाउनीमा आज बिहान दुःखद निधन भएको छ । स्वर्गीय कार्की नेपाली साहित्य, चलचित्र र गीत सङ्गीतमा लामो योगदान दिने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।
वि.सं. १९९५ साल कार्तिक २२ गते बहाटारी थुम, स्याङ्जामा माता चन्द्रमाया कार्की र पिता जुध्दवीर कार्कीका माइला सुपुत्रको रुपमा जन्मिएका कार्कीले नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । स्व. कार्कीका श्रीमती गंगा कार्की, दुई सुपुत्र पारश कार्की र पंकज कार्की हुनुहुन्छ ।
वि.सं.२०२५ देखि लेखन, निर्देशन, निर्माण नियन्त्रक र प्राविधिक सल्लाहकारको रूपमा नेपाली चलचित्रमा संलग्न हुनुभएका स्व. कार्कीले वि.सं.२०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि निर्माण अधिकृतका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विभिन्न चलचित्रहरुको सम्वाद लेखन, निर्देशन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सक्रिय सहभागीता समेत जनाउनुभएका स्व. कार्कीले साहित्य, उपन्यास एवं नाटकको क्षेत्रमा पनि कलम चलाउनुका साथै अभिनय पनि गर्दै आउनुभएको थियो ।
स्व. चेतन कार्कीको निधनबाट मुलुकलाई गीत, संगीत, साहित्य एवं चलचित्रको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा दिवंगत कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

प्रकाशित मिति : May 16, 2021 at 9:03 pm



