९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

तुलसीपुर कारागारका कैदी मृत भेटिए

२६ वैशाख, तुलसीपुर । दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । कारागारका नायब सुुब्बा जोखिम ओलीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका उनी आज बिहान हेर्दा मृतावस्थामा रहेको ओलीले बताउनुभयो । “बेलुका खाना खाएर सुत्नुभएको थियो, त्यसपछि राति एकपटक उठेर शौचालय गएको र त्यतिबेला ड्युटीमा खटिएका व्यक्तिले सोध्दा गर्मी महसुस भएको भन्नुभएको थियो”, ओेलीले भन्नुभयो, “बिहान उठ्दा मृत फेला पर्नुभयो ।”

शवलाई कारागारमा राखिएको छ । सल्यानबाट आफन्त आउन लागेको भन्दै उनीहरु आएपछि मात्रै आफन्तलाई देखाएर शवपरीक्षण गर्न लैजाने ओलीले बताउनुभयो । उनले विसं २०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए ।

 

प्रकाशित मिति : May 9, 2021 at 1:09 pm