९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

खरानीटार अस्पतालमा २० शय्याको ओइशोलेसन कक्ष तयार

२३ वैशाख, त्रिशूली । कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ । पालिकामा समुदायसम्म कोरोनाको सङ्क्रमण देखिएसगैँ रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शययाको आइशोलेसन कक्ष तयार गरेर सङ्क्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिनुभएको छ । उहाँका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइशोलेसन शय्या तयार गरिएको हो ।

“कोरोना सङ्क्रमणको दरमा देखिएको बृद्धिसगैँ खरानीटार अस्पतालमा स्वाव सङ्कलन गरेर परीक्षणको लागी पठाउने ब्यवस्था मिलाइएको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो “रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीयतहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको स्वाथ्यकर्मी समेत केन्द्रमा राखिएको छ ।” यही बुधबार गरिएको २२ जनाको पिसिआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसगैँ सक्रिय सङ्क्रमितको सङ्ख्या यहाँ २१ पुगेको छ ।

अतिआवश्यकबाहेकका सेवा बन्द

यसैबीच तादी गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत एकजना कर्मचारी सहित पालिकाको केन्द्र आसपासको बजार क्षेत्रका बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएसगैँ बुधबारदेखि अनिश्चित समयको लागी पालिका र मातहत कार्यालयको अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाले बुधबार जारी गरेको सूचना अनुसार रोगको सङ्क्रमण बृद्धिहुदै गएकाले अनिश्चित समयको लागी गाउँपालिकाको कार्यालय सहित छ वटा वडा कार्यालय, विभिन्न शाखा कार्यालयको अतिआवश्यक बाहेकको सेवा बन्द गर्न भनिएको छ । अति आवश्यक सेवा चलाउन कोरोना रोगबाट बच्न तोकिएको मापदण्डको पालना गरेर आलोपालो गरेर बिहानदेखि बेलुकासम्म सेवा उपलब्ध गराउन दुई समूह बनाइएको छ ।

प्रकाशित मिति : May 6, 2021 at 2:06 pm