९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुनसरीमा गएरातिदेखि पूर्ण निषेधाज्ञा जारी

२२ वैशाख, इनरुवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले चेन ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो । पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनसरीमा यसअघि सवारी साधनको हकमा कायम गरिएको जोर, बिजोर प्रणालीसमेत हटाइएको उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवाबाहेक अन्य सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । अत्यावश्यकको सूचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी सञ्चालन गर्न दिइनेछ ।

निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख गर्दै उहाँले यसको उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग निवारण ऐन, २०२० अनुसार कारवाही गर्ने बताउनुभयो ।

प्रकाशित मिति : May 5, 2021 at 10:09 am