९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

थप ५ जिल्लामा निषेधाज्ञा जारी, निषेधाज्ञा जारी गरिएका जिल्ला ४६ पुग्याे

२१ वैशाख, काठमाडाैँ । कोभिड–१९ सङ्क्रमण फैलिन नदिन मुलुकका थप पाँच जिल्लामा निषेधको आदेश जारी भएको छ । सोमबारसम्म ४१ जिल्लामा जारी भएको आदेश आज पाँच जिल्ला थपिएसँगै ४६ जिल्ला पुगेको छ । थपिएका जिल्लाहरूमा महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व र रोल्पा रहेका छन् । ती जिल्लामध्ये रोल्पामा बुधबार बिहान ६ बजेदेखि र महोत्तरीमा साँझ ६ बजेदेखि आदेश लागू हुनेछ । अन्य तीन जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । यसअघि नै आदेश जारी भएको दैलेखमा पनि आज रातिदेखि नै कार्यान्वयनमा जाँदै छ ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । दैनिकरूपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेको छ । शनिबार २९ जिल्लामा निशेषधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकोमा सोमबार ४१ जिल्लामा आदेश जारी भएको थियो ।

प्राप्त विवरणअनुसार यसअघि जारी भएका बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञ कार्यान्वयनमा छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालिकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञ छ ।

प्रकाशित मिति : May 4, 2021 at 5:54 pm