९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

आगामी जेठ १० गतेदेखि यार्सापाटन खुल्ने

१९ वैशाख, डोल्पा ।  अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताउनुभयो ।

“देशभर कोरोना सङ्क्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० सङ्क्रमित पुगिसके, यहि दरमा सङ्क्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनःएक पटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ”, प्रजिअ ढकालले भन्नुभयो ।

प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालनसँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारीबाट सर्वप्रथम नागरिकलाई जोगाउनु पहिलो कर्तव्य भएको प्रजिअ ढकालको भनाइ छ । जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् । अधिकाशं नागरिकले अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

मध्यवर्ती क्षेत्रका नागरिक, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । त्यसमा क्रमश रु ५००, रु दुई हजार र रु तीन हजार रकम तोकिएको छ ।

प्रकाशित मिति : May 2, 2021 at 7:22 am