९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

धौलागिरी हिमालमा भेटियो सन् २००६ मा दुर्घटनामा परेको हेलिकप्टर र मानव अवशेष

१७ वैशाख, काठमाडाैँ । धौलागिरी हिमालमा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरसँगै २ शव पनि भेटिएको छ । धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको जानकारी दिनुभयाे । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको हाे । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ ।

प्रकाशित मिति : April 30, 2021 at 5:26 pm