९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

माओवादीद्वारा वडा अध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही

१४ वैशाख, सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो । गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअ‍ेवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कारवाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो । “लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उहाँहरु आउनुभएको छैन”, अध्यक्ष पुनले भन्नुभयो, “पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।”

अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

पार्टीमै पुनरावेदन गर्छौँ वडाध्यक्ष थापा

वडाध्यक्ष थापाले आफूमाथि कारवाही गर्ने निर्णयको पार्टीभित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिनुभयो । पार्टीले कारवाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडाध्यक्ष थापाले भन्नुभयो, “म विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा आबद्ध भएँ, त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आबद्ध छैन, तर पूर्वाग्राही ढङ्गले कारवाही गरे म पार्टीभित्रै न्याय खोज्छु ।”

पार्टीभित्रकै केही व्यक्तिले आफूमाथि भौतिक आक्रमण गर्नेविरुद्ध कारवाहीको माग गर्दा कुनै सुनुवाइ नभएपछि पछिल्लो समयमा पार्टीको सम्पर्कमा नगएको उहाँले बताउनुभयो । उहाँले अर्को पार्टीमा लागेको भन्ने आरोप सही नभएको प्रतिक्रिया दिनुभयो । “माओवादी केन्द्रको बाहेक हामी (म र वडा सदस्य वर्ष महतारा)सँग नेकपाको समेत सदस्य लगेको रसिद छैन”, उहाँले भन्नुभयो, “अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसइबीबाहेक अरु केही होइन । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।” वडाध्यक्ष थापा मोओवादी केन्द्रकै स्थानीय नेताद्वारा यसअघि दुईपटक कुटिनुभएको थियो ।

 

 

प्रकाशित मिति : April 27, 2021 at 10:47 am