९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

लाटोकसेरोसहित पक्राउ परे रामेछापका केशर श्रेष्ठ

१४ वैशाख, काभ्रे । प्रहरीले संरक्षित जिउँदो उल्लु (लाटोकसेरो) चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ भिरकोट का ३४ वर्षीय केशर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमबार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई शङ्कास्पदरूपमा फेला पारेपछि जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित फेला परेको हो । नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : April 27, 2021 at 8:43 am