१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

भेरी अस्पतालमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाकाे अवस्था गम्भीर

३ वैशाख, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । बाँकेमा अहिलेसम्म कूल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।

 

बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 16, 2021 at 10:13 am