१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

हवाइ इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको भन्दा महंगो हुनुहुन्नः मन्त्री ढकाल

२२ चैत, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिनुभएको छ । आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उहाँले कर्मचारीको कामको निगरानी राख्नपनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्र्तराष्ट्रिय रुपमा समान हुनुपर्ने बताउनुभयो । उहाँले विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभयो ।

विमानस्थल भित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिनुभयो । ट्याक्सीलाई सिस्टममा हिडाउनका लागि विमानस्थल भित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताउनुभयो ।

उहाँले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन पनि निर्देशन दिनुभयो । मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नृु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो । आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उहाँले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभयो ।

मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘त्रिभुवन विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक छ। यो विमानस्थल व्यवस्थित भयो भने देशका अन्य विमानस्थलको सेवा आफै चुस्त हुन्छन्। त्यसैले पनि यहाँको व्यवस्थापन उदाहरणीय हुन जरुरी छ।’

सेवा दिने कर्मचारीले गर्ने व्यवहार र विमानस्थलको शौचालय देशको स्वाभिमानसँग जोडिएको बताउँदै मन्त्री ढकालले त्यसमा विशेष ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो । कोभिड–१९ ले सबैभन्दा धेरै मारमा परेका क्षेत्रमध्येको पर्यटन क्षेत्र पनि रहेको बताउँदै उहाँले पर्यटक आवागमन सम्बन्धी केही खुकुलो नीति ल्याउने अन्तिम तयारीमा रहेको अवस्थामा छिमेकी मुलुक भारत लगायतका देशहरुमा देखिएको कोरोना भाइरस संक्रमणको अर्को लहर फैलिएका कारण तत्काल यथास्थितिमा केही परिर्वतन नहुने ताउनुभयो ।

प्रकाशित मिति : April 4, 2021 at 8:53 pm