१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सिसडोलमा स्थानीयको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

२० चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि फोहोर अवरोध हटाउने सहमति भएको छ। फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन । छलफलमा सहभागी ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए ।

‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने,जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,’ बजगाईंले भने, ‘अब आजैबाट फोहोर उठ्छ ।’

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जन गर्न दिएका थिएनन्। धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पुर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रसंषा गरे।

महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीवेसीँ नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताएका छन्।

प्रकाशित मिति : April 2, 2021 at 1:39 pm