आजदेखि मेलम्चीको पानी बालाजु क्षेत्रमा वितरण
२० चैत, काठमाडाैँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। लिमिटेडले बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको जनाएको छ।
लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि आजैदेखि मेलम्चीको पानी वितरण हुनेछ । उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी रहेकाे र केही समयभित्रै त्यहाँ पनि पानी पठाउन सकिने शाक्यले जानकारी दिनुभयाे ।

चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो। एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ। अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए। दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ।
मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो। त्यसको दुई सातापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो। पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो। राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन्।
प्रकाशित मिति : April 2, 2021 at 8:20 am



