थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन
१६ चैत, काठमाडाैँ । सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनु भएको हो ।

वार्ता टोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहनुभएको छ । थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरिएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । थरुहट आन्दोलनरत पक्षले लामो समयदेखि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।
प्रकाशित मिति : March 29, 2021 at 4:01 pm



