ललितानिवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज
१६ चैत, काठमाडाैँ । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएकाे छ । सर्वोच्च अदालतमा आज पुनः पेशी चढेको छ।
सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो। आजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा छ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गर्नुभएकाे थियाे ।

न्यौपानेले २०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्व-प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ भने विभिन्न कारणले स्थगित हुँदै आएको छ।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री हुनुभएकाे थियाे। सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति : March 29, 2021 at 11:31 am



