चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
१६ चैत, काठमाडाैँ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुगेको छ । चीनले अनुदानमा दिएको खोपको ८ लाख डोज अहिले साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्राेडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो । यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताउनुभयो । यो खोप कसरी र कस्ता व्यक्तिले लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेकोछ ।
सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ उडेको थियो । सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको हो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।
सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ । निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलोपटक उडान गर्न लागेको हो ।
निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
प्रकाशित मिति : March 29, 2021 at 9:17 am



