१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सार्वजनिक यातायातमा कडाई गर्ने निर्णय

१३ चैत, काठमाडौँ । कोभिड संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रु राख्ने, भौतिक दुरी कायम गर्ने, बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पराजुलीले जानकारी दिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारवाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।

प्रकाशित मिति : March 26, 2021 at 3:43 pm