१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

चोरी भएका ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

९ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट फेला पारेका चोरीका ३० वटा मोटरसाइकल सम्बन्धित​ धनीलाई बुझाएको छ। महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल फेलापारी सम्बन्धित धनीलाई बुझाएको हो। उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सोमबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन्।

कार्यक्रममा एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिएको बताए। ‘यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौं’ भट्टराइले भने,‘त्यस टोलीले नियमित रूपमा खबर संकलनगर्ने तथा विशेष अपरेशनमार्फत मोटरसाइकल बरामद गर्ने गर्दछ।’ प्रहरीले भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सीमा जोडिएका बिभिन्न स्थानहरूबाट मोटरसाइकल बरामद गरेको जनाएको छ।

महाशाखाका अनुसार यस आर्थिक वर्षमा मात्रै हराएका तीन सय ३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जनालाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ। यस्तै महाशाखाको पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको बुलेट मोटरसाइकल चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय मल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकल सहित पक्राउ गरेको छ। उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरि बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : March 22, 2021 at 3:37 pm