राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको बागमती प्रदेशको शाखा नुवाकोटको बेलकोटगढीमा
-सुप्रिया मुडभरी
२९ फागुन, नुवाकोट । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको बागमती प्रदेशको शाखा नुवाकोटमा स्थापना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले नुवाकोटको बेलकोटगढी १० मा शाखा कार्यालय स्थापनाको तयारी पूरा भएको र आज शनिबार उद्घाटको तयारी गरिएको जानकारी दिनुभयो ।

केन्द्रले यसअघि प्रदेशको सुनसरीमा, प्रदेश २ काे महोत्तरीमा र गण्डकी प्रदेशको गोरखामा शाखा सञ्चालनमा ल्याएको छ । सरकारले एउटा प्रदेशमा एउटा शाखा खोल्ने नीति अनुरूप नुवाकोटको बेलकोटगढीमा शाखा सञ्चालन गर्न थालिएको कार्यकारी निर्देशक यादवले बताउनुभयो ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कार्यकालमा केन्द्रले बागमती प्रदेशको शाखा नुवाकोटको बेलकोटमा सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय गर्नुअघि केन्द्रका कार्यकरी निर्देशक यादव, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेशका संसदीय दलका मुख्य सचेतक एवं सोही क्षेत्रका सांसद केशवराज पाण्डे, एमाले नुवाकोटका अध्यक्ष एवं सांसद बद्री मैनाली, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, सिंहदरबार बैद्यखाना विकास समितिका अध्यक्ष डा बाबुराजा अमात्य, सोही वडाका वडा अध्यक्ष पूर्णबहादुर त्रिपाठी, नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठ, तत्कालीन स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधव तिवारी लगायतको टोलीले शाखा सञ्चालनका लागि अावश्यक जग्गाको निरीक्षण गरेको थियो ।

केन्द्रको शाखा यसअघि नुवाकोटकै शिवपुरी गाउँपालिकाको सूर्यचाैरमा सञ्चालन गर्ने भनिए पनि त्यहाँ जग्गादेखि भवनसम्म व्यवस्थापन नहुँदा सञ्चालन हुन सकेको थिएन् । गाउँमा पाखाबारीहरू बाँझिदै गरेको अवस्थामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अस्पतालसहितको शाखा सञ्चालन हुनेगरी नागरिकमा खुशीको सञ्चार गरेको सांसद एवं प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । अब किसानले जडिबुटी खेती गर्न सक्ने र त्यसबाट जीवनमा परिवर्तन ल्याउन सक्ने बताउनुयभो । गाउँमा हुने बिरामीको अायुर्वेदिक पद्धतिको उपचार सेवा समेत सँगै सुरू हुनेहुँदा नागरिकले स्वास्थ्य सेवा समेत पाउनेछन ।
केन्द्रको शाखा उद्घाटनको अवसरमा शनिवार स्वास्थ्य शिविर समेत सञ्चालन हुन लागेको बेलकोटगढी नगरपालिकाका प्रमुख खनालले जानकारी दिनुभयो । उहाँले वडा नं. १० को सरस्वती आधारभूत विद्यालयमा आर्युवेद चिकित्सकद्वारा दन्त उपचार सेवा, सामान्य चिकित्सा, स्त्री रोगको उपचार सेवा, पंचकर्म सेवा तथा पायल्स फिस्टुला जस्ता रोगहरुको आर्युवेद पद्वतिद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । (शाखा कार्यालय सञ्चालनका लागि जमिन निरीक्षणको क्रममा कैद भएका तस्बीरहरू तल हेर्न सक्नुहुन्छ ।)

प्रकाशित मिति : March 13, 2021 at 7:44 am



