११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सडकमा मृतावस्थामा फेला परेका शिक्षकको शव बुझे आफन्तले

२८ फागुन, डोटी । जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेका हुन् ।

फाइल फाेटाे

मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएपछि बल्ल आएर आफन्तले शव बुझेका हुन् । मृतकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो ।

शव बुझेसँगै मृतकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ । अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुनुहुन्छ । उहाँ विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आउनुभएको थियो ।

प्रकाशित मिति : March 12, 2021 at 1:33 pm