११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सम्झौता अघिनै सकियो खानोपानीको काम

२६ फागुन, भरतपुर । भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको काम निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको छ । सो आयोजनाको मङ्गलबार भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । नेपाल सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेतको संयुक्त लगानीमा निर्मित खानेपानी आयोजनाको निर्माणको जिम्मा शर्मा सगरमाथा भीमेश्वर जेभीले लिएको थियो ।

दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताउनुभयो । यस आयोजना निर्माणका लागि रु २१ करोड ७७ लाख लागत अनुमान भएकामा निर्माण व्यवसायीले रु १२ करोड ७७ लाखमा ठेक्का लिएर काम शुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उहाँले बताउनुभयो ।

आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाइप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उहाँको भनाइ छ । सडक र नाला विस्तारका क्रममा खानेपानीको पाइप काटिने कारणले मर्मतसम्भारमा समस्या भएको दाहालको भनाइ छ । भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी आपूर्ति गर्न १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित विसं २०७४ जेठ २१ गते आयोजनाको निर्माण सम्झौता भएको थियो ।

सो अवसरमा भरतपुर महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीसहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गर्नुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : March 10, 2021 at 10:14 am