११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्दै

१८ फागुन, काठमाडाैँ । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताउनुभएको हो ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताउनुभयो । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उहाँको जोड छ ।

३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिनुभयो । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उहाँले बताउनुभयो । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताउनुभयो ।

डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताउनुभयो । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उहाँको भनाई छ । पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्ववति महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 2, 2021 at 5:30 pm