११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

महेन्द्रनगर विमानस्थल विस्तार र क्षमता विकास गरेर पुनः सञ्चालनमा ल्याइने

-सिबी अधिकारी 

४ फागुन, काठमाडाैँ । विमानस्थल सञ्चालनपछि गौचरको रुपमा परिणत भएको कञ्जनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।  उक्त विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बीचमा आज साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।

आज सिंहदरबारमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकास सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधरा चाँदनी नगरपालिकाका नगरप्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो ।

सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधरा चादनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरि आदन प्रदान गर्नुभएको हो ।

सो अवसरमा पर्यटनमन्त्री भानुभक्त ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार विकासमा तीन तहका सरकारको साझेदारीता सबैका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले विमानस्थल विकासको सम्झौताको भावना बमोजिम सम्बन्धित निकायले जिम्मेवारीतापूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यसक्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पार्नुभयो ।

पर्यटनमन्त्री ढकालले भन्नुभयो,“विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस भन्नेतर्फ सजक रहनुस् ।”

पर्यटनमन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीति अनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताउनुभयो । उहाँले विकास निर्माणको प्रक्रियामा अनियमितता र गलत प्रवृत्तिले राम्रा काम हुन नसकिरहेको विगतको यथार्थलाई आत्मसाथ गरी निर्माणाधीन हवाई पूर्वाधारको आयोजनालाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवद्र्धनका हिसावले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तब्य भएकाले तीन तहका सरकारको साझेदारितामा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताउनुभयो ।

क्यानका महानिर्देशक पोखरेलले अन्तराष्ट्रिय हवाई मापदण्ड अनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजना अन्तर्गत विकास गरिने जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले सुदूरपश्चिमाञ्चल प्रदेशको समृद्धिले नै मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएकाले महेन्द्रनगर विमानस्थल रणनीतिक महत्वको आयोजना भएको उल्लेख गर्नुभयो ।

समझदारीपत्र अनुसार अनुरुप प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधरा चादनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने सङ्घीय सरकारकोतर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौता पत्रमा उल्लेख छ । महेन्द्रनगर विमानस्थलको हालको धावनमार्गको लम्बाई कम्तीमा एक हजार ६०० मीटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई थ्रिसी क्याटोगोरी स्तरको आधुनिक सुविधानसम्पन्न विमानस्थलमा स्तरोन्नति गरिनेछ । उक्त कार्यको क्यानले सहयोग, समन्वय र अनुगमन गर्नेछ ।

समझदारीको कार्यान्वयनमा कुनै समस्या आएमा पर्यटन मन्त्रालयले समन्वय गरि विवाद समाधान गर्नेछ । यसअघि प्रदेश नं १ को विराटनगर र कर्णाली प्रदेशको सुर्खेत विमानस्थल विस्तार तथा विकासका लागि तीन तहका सरकारबीच साझेदारी पत्रमा हस्ताक्षर भएको थियो ।

महेन्द्रनगर विमानस्थल विगत लामोसमय सञ्चालनमा आएर पनि बन्द भएको थियो । क्यानका महानिर्देशक पोखरेलका अनुसार तत्कालीन हवाई विभाग अन्तर्गत सन् १९६३ मा स्थापना भएको यो विमानस्थलबाट नेपालगञ्ज र नेपालगञ्जदेखि काठमाडौँ उडान हुने गरेको थियो ।

सुदूरपश्चिमका दुर्गम पहाडी भेगको उडान तथा क्षेत्रीय उडान सञ्चालनका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तब्य मानिन्छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली महेन्द्रनगरदेखि करिब साँढे तीन किलोमिटर दूरीमा पर्छ । उक्त क्षेत्रमा सुक्खा बन्दर्गाहा निर्माणको योजना छ । रासस

प्रकाशित मिति : February 16, 2021 at 8:26 am