११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

ओलीको पक्षमा वुटवलमा मानवसागर, रोल्पा र रूकुम पनि जित्ने उद्घोष (फोटोफिचर)

१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपि शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड— माधवसमूह लगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गर्नुभएको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटिद्वारा बुटवलमा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे ! ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको ? प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्यथा भए राजनीति पुनः अस्थिरता, पटक पटक समीकरण र मोलतोलको तहमा जाने र लोकतन्त्रको हुर्मत लिने अवस्थामा पुग्ने बताउनुभयो ।

पार्टीको आधिकारिकता र चुनाव चिन्ह बहस गरिरहनु नपर्ने विषय भएको बताउँदै प्रधानमन्त्रीले आफूले अहिलेसम्म सूर्य चिन्हबाट मात्र चुनाव लडिरहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । देशको अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने र त्यसलाई संविधानको अंग बनाउने काम गरेपछि आफूलाई हटाउने चलखेल सुरु भएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘गत वैशाखमा मलाई हट्न भनियो, मैले सोधेँ किन ? जवाफ अरु छैन, मलाई प्रधानमन्त्री हुन मन लाग्यो मात्र । फेरि मलाई अध्यक्षबाट हट्न भनियो, मैले सोधेँ किन ? जवाफ आयो, म आफैं अध्यक्ष हुनुप¥यो । मैले ‘प्रधानमन्त्री हुने भए चुनावसम्म र अध्यक्ष हुनेभए महाधिवेशनसम्म पर्खन भनँे । भनियो, उधारो हुँदैन हाताहाती, नगद चाहिन्छ’, प्रधामन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको समेत बताउनुभयो ।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्’, प्रधानमन्त्रीले भन्नुभयो ।
सरकारलाई काम गर्न नदिने तत्वहरुले नै पार्टीमा तगाराका रूपमा रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘ति हिजो पार्टी भित्रै बसेर सरकार विरुद्ध जथाभावी बोल्थे, आज बाहिर बोल्दैछन् । तिनले महान शुद्धिकरणका लागि ढोका खोलेका छन्’, प्रधानमन्त्रीले थप्नुभयो ।

भएका कुरा देख्नै चाहेनन्
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करिब तीन वर्षअघि आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका दूरगामी प्रभाव राख्ने कार्यहरु आफूलाई हटाउन खोज्नहरुले देख्नै नचाहेको र स्वीकार्ने हिम्मतसमेत नगरेको पनि उल्लेख गर्नुभयो । ‘मुलुकमा प्रत्येक दिन पाँच किलोमिटरका दरले सडक कालो पत्रे भएको छ । धेरै विमानस्थलहरु रातमा पनि चल्ने भएका छन् । २०७८ साललाई सडक बालबालिका र सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने गरी काम भइरहेको छ । अहिले ६८ जिल्ला र पछि सबै ठाउँमा फोर जी सेवा पुग्दैछ’, उहाँको भनाई थियो ।

प्रधानमन्त्रीले अहिले नेपाल अन्तर्राष्ट्रियस्तरमै चिनिन र सुनिन समेत थालेको समेत उल्लेख गर्दै भन्नुभयो, विश्वकै अर्थतन्त्रलाई प्रभावपार्न सक्ने जी—२० मुलुकको सम्मेलनमा नेपाललाई बोलाइयो र नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने अवसर दिइयो, त्यो सानो कुरा होइन’।

जनयुद्ध लडेकालाई रोजगारी र राजनीतिक नियुक्तिसम्म
प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डबाट १० वर्षसम्म जनता झुक्किएको बताउँदै अब यस्तो सम्भव नहुने समेत बताउनुभयो । युवाहरुलाई अनेक सपना देखाएर शहिदको पंक्तिमा लाम लाग्न भन्नुभयो, आज ती सबै कस्तो हालतमा छन्?, उहाँले भन्नुभयो । साथै प्रधानमन्त्रीले जनयुद्ध लडेकालाई परिचपत्र, परिवारको एक सदस्यलाई रोजगारी र राजनीतिक नियुक्तिमा क्षमताअनुसार प्राथमिकता दिइने समेत बताउनुभयो ।

निर्मला र भागिरथीका अपराधीलाई पानी मुनी गए पनि छोडिने छैन

सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्मला पन्त र भागिरथी भट्ट हत्याकाण्डका अपराधिलाई जुनसुकै हालतमा पनि सजाँय दिइने बताउनुभयो । ‘दुई चार महिना वा एकै वर्षै उम्केलान् तर न्यायको कठघरामा ल्याइने छ’, प्रधानमन्त्रीको भनाई थियो । सभालाई सम्बोधन गर्दै अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको कुरालाई सभाको उपस्थितिले पुष्टि गरेको बताउनुभयो । ‘बुटवलमा जुटेको जनमतले पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ उहाँले भन्नुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभाले लुम्बिनी प्रदेशमा नेकपाले विगतका चुनावमा पराजित स्थानमा समेत विजयी हुने संकेत गरेको बताउनुभयो । ‘प्रचण्डले जे चाह्यो त्यही हुने भनिएको रोल्पा रुकुम जस्ता स्थानमा समेत अब उहाँ पराजित हुने कुरा आजको सभाले देखाएको छ’, उहाँले भन्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले जनआन्दोलन, जनयुद्ध तथा सबै लोकतान्त्रिक आन्दोलनको उपलब्धिको रक्षा तथा शहित, घाइते तथा बेपत्ता परिवारको संरक्षण प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने बताउनुभयो । यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालापनी फिर्ता गराउने अभियानमा अोलीको भूमिका अत्यन्तै सकारात्मक रहेको र अब त्यो फिर्ता हुने विश्वास जागेको बताउनुभयो । प्रदेशका ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब लुम्बिनी प्रदेशको रोल्पा र रूपकमा पनि अोली नेतृत्वकै नेकपाले विजयको झण्डा फहराउने उद्घोष गर्नुभयो ।

प्रकाशित मिति : February 13, 2021 at 9:02 pm