समृद्धिको बाटोमा नुवाकोटको बेलकोटगढी, धमाधम पूर्वाधार निर्माण हुँदै
-प्रशान्तजंग पाण्डे
१ फागुन, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका समृद्धिको बाटोमा लम्किन थालेको छ । समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणका लागि नगरपालिका भित्र व्यापक कामहरू भैरहेका छन । नगरभित्र २१० सडकहरू रहेको र त्यसको स्तरोन्तीको काम विभिन्न चरणमा भैरहेको नगरप्रमुख राजेन्द्र रमण खनालले जानकारी दिए ।

नयाँ नगरपालिका भएकाले विकासका थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने चुनौति नेतृत्वकोसामू रहेको छ । यद्यपी नगरपालिकाले धेरै काम एकै पटक सुरू गरेर त्यसलाइ निरन्तरता दिइरहेको छ । पालिकाले पहिलो प्राथमिकतामा राखेको निरञ्जना-बाघखोर सडकको ढलान कार्य तीव्र गतिमा भैरहेको छ । पासाङल्हामु सहायक राजमार्ग जोड्ने यस सडक पक्की भएपछि राजमार्गबाट बढीमा २० मिनेटको सावारी यात्रामा नगरपालिकाको केन्द्र बाघखोरमा पुगिन्छ ।

नगरप्रमुख खनालका अनुसार निरञ्जना(बाघखोर सडकका लागि बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । २२ करोड ४१ लाख ७३ हजार रूपैयाँको लागतमा पक्की हुँदै गरेको सडकको काम अगामी एक वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ । अहिले सडकको भौतिक प्रगति ४५ प्रतिशत भन्दा बढी रहेको र निर्माणको कामलाइ गति दिन निरन्तर रूपमा अनुगमन गरिरहेको प्रमुख खनालले बताए ।

सडक निर्माणका लागि व्यवसायीले १८ प्रतिशत भुक्तानी पाइसकेका छन । महालक्ष्मी जलुकेन्नी जेभी बालाजुका प्रमुख सुशील फूयाँलले काममा ढिलासुस्ती नहुने भन्दै गुणस्तरीयतामा विशेष ध्यान दिइरहेको बताएका छन । उनले नगरप्रमुख खनालले दिनहुँजस्तै कामको निरीक्षण गरेर हौसला दिइरहेको बताए । उक्त सडक पक्की भएपछि नगरपालिकाका वडा नम्बर १, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाका स्थानीयले सुविधा पाउनेछन ।
सडक नगर विकासकै मेरूदण्ड भएकाले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाइ समेत बारम्बार सचेत गराइरहेको नगरप्रमुख खनाल बताउँछन । खनाल तीनै हुन जसले जिल्लाका अन्य स्थानीय तह र राजनीतिक दलका नेताले बालुवा गिटीको तस्करीका लागि नदी र खोलाको दोहन गर्दा समेत बेलकोटगढी क्षेत्रबाट बग्ने नदी र खोलामा त्यस्तो गर्न रोकेका छन ।

प्रकाशित मिति : February 13, 2021 at 8:08 pm



