१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

२६ औँ मानवअधिकार पुरस्कार २०७६ डा. विश्वकर्मालाई

२७ माघ, काठमाडाैँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका – ५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहि नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उहाँलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताउनुभयो ।
३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाईतेलाई बचाएपछि उहाँको चर्चा देशभरी भएको थियो ।

सम्मान पछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफुहरु मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताउनुभयो । इन्सेकले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

प्रकाशित मिति : February 9, 2021 at 3:41 pm