१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

जग्गाधनी पुर्जा वितरणमा बदमासी नगर्न आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन

२४ माघ, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबिनिवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही गरिने चेतावनी दिनुभएको छ ।

मन्त्री तुम्बाहाङफेले भन्नुभयो “एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही हुन्छ ।” भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई आज यहाँ निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिनुभयो ।

“तपाईंहरूले निश्चित अधिकारमात्रै दिइएको छ”, उहाँको भनाइ थियो, “ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलिया सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरूलाई प्रभावित बनाउने समूह आउँछ”, उहाँको स्पष्ट भनाइ थियो, “यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।” आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गर्नुभयो ।

सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । कूल २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको काँधमा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । आयोगको कामले सरकारको छवी देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन अपिल गर्नुभयो ।

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूमाथि कूल नौ लाखभन्दा बढीलाई जग्गाको लालपुर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति : February 6, 2021 at 9:36 pm