१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

इन्धन ढुवानी सेवाका लागि साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

१६ माघ, काठमाडौँ । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो । करीब रु दुई करोड ५० लाखका लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ ।

काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ । यहाँ आज आयोजित ढुवानी सेवाको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले संस्थागत रुपमा प्रतिनिधित्व र राष्ट्रिय हितअनुरुपको सेवा दिन स्थापित संस्थाको आयआर्जनको मूल स्रोतका रुपमा आयल स्टोर रहेकाले संस्थाको क्षमता वृद्धिका साथै कारोवार बढोत्तरी गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुझाव दिँदै मन्त्रालयले गर्ने काममा संस्थालाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नभयो ।

उहाँले नेपाल आयल निगम एक्लैले पेट्रोलियम पदार्थ कारोवार गर्न नसक्ने भएकाले साझा सेवाले पनि इन्धन आपूर्तिको बेलाबखत हुने असहज अवस्थामा सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको र कोभिड –१९ को महामारीसँगै बन्दाबन्दी अवस्थामा पनि अत्यावश्यक सवारी साधनलाई नियमित रुपमा सेवा दिँंदै आएकामा सराहना गर्नुभयो । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थका क्षेत्रमा संस्थाले जनस्तरमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर भण्डारी, व्यवसायी लिलेन्द्र प्रधानलगायतले साझा सेवा सबैको साझा रहेको बताउँदै सरकारीस्तरमा खुलेको भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अगाडि बढ्न शुभकामना दिनुभयो । साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले निकट भविष्यमा विषादीरहित साझा तरकारी बजार, नियमित रुपमा खाद्य वस्तुका सुपथ मूल्यका पसल सेवा, विद्युतीय परिवहन चार्जिङ स्टेशन जस्ता सेवाको थालनी गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : January 29, 2021 at 4:41 pm