भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटमा ढुंगाना, आचार्य र घिमिरे
-प्रशान्तजंग पाण्डे
९ माघ, नुवाकोट । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य विन्दा ढुंगानालाइ नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्तिको निर्णय भने सरकारले सार्वजनिक गर्न बाँकी रहेको छ । मदन भण्डारी फाउण्डेसन नुवाकोटको अध्यक्ष समेत रहेकी ढुंगाना गत स्थानीय निर्वाचनमा सूर्ययगढी गाउँपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेकी थिइन ।
सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ । केन्द्रीय आयोगले नेतृत्व पाएको एक वर्षपछि जिल्लास्थित आयोगले पूर्णता पाएको हो ।

सरकारले आयोग नुवाकोटको सदस्यमा नेकपा नुवाकोटका सचिवालय सदस्यद्धय बलराम आचार्य र नारायण घिमिरेलाइ नियुक्त गरेको छ । आचार्य र घिमिरेले नुवाकोटको राजनीतिमा दुइ दशकबढी बिताएका छन । आयोगले जिल्लाको भूमि सम्बन्धी समस्या समाधानका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी भएकाले सरकारले आयोग गठन गरेको थियो । भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भए पनि कतिपय भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण आवश्यक थियो ।
भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा / चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर / घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयमा यस आयोगले काम गर्नेछ ।
प्रकाशित मिति : January 22, 2021 at 6:08 pm



