४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

कमलपोखरीको पुनःनिर्माण रोकियो

८ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाको ऐतिहासिक कमलपोखरी पुनःनिर्माणको काम तत्कालका लागि स्थगित भएको छ। कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग, स्थानीय सरोकारवाला र सम्पदा संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराएपछि हाललाई निर्माणको काम रोखिएको हो।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीका अनुसार स्थानीयबासी, सम्पदा संरक्षण अभियन्ता, निर्माण कम्पनीलगायत सरोकारवालाहरुसँग छलफल गरि पुनः काम सुरु गरिने छ।


सम्पदा संरक्षण अभियन्ता शुसन बैद्यले पोखरी पुनःनिर्माणका क्रममा मौलिकतालाई ख्याल नगरी ऐतिहासिक र पर्यावरणीय पक्षलाई मास्न खोजेकाले तत्काल काम रोकेर सबैसँगको मरामर्श र छलफल गरी निर्माण थाल्न महानगरलाई अनुरोध गरेको जानकारी दिए ।

यसअघि कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरी हाललाई निर्माण रोक्न माग गरेका थिए ।

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

प्रकाशित मिति : January 21, 2021 at 3:43 pm