१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु

६ माघ, खोटाङ । सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जीप सेवा प्रदान गर्दै आएको यातायात प्रालिले आज दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम गरेर दिक्तेल–काडमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको हो ।

सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले बताउनुभयो । “पहिलो चरणमा फुडन कम्पनीका दश वटा सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “स्वच्छ प्रतिस्पर्धालाई आत्मसाथ गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ ।”

सुपर फोटन माइक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपिएल सिष्टम, एलसिडी मनिटरलगायतका सुविधा रहेको यातायात प्रालिका अध्यक्ष राईले जानकारी दिनुभयो । माघ ७ गते अर्थात भोलिदेखि दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौँबाट पनि बिहान ६ बजे फोटन माइक्रो भ्यान छुट्ने जनाइएको छ ।

दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिव्यक्ति जीपमा रु एक हजार ४५० र बसमा रु एक हजार २०० निर्धारण गरिएको छ ।

भौगोलिक चुनौती रहेको भए पनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइएको फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले माइक्रो भ्यान सेवा सञ्चालनमा नगरपालिकाको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायमा प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जनभन्दा बढी यातायात प्रालिद्वारा सञ्चालित सयौँको सङ्ख्यामा बस तथा जीप सेवा सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लाबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवा जोडिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रको काम भर्खरै मात्र सम्पन्न भएर सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय यातायात व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको छ । यातायात व्यवसायीबीच एक अर्कामा प्रतिस्पर्धा हुँदा यात्रा गर्ने सर्वसाधारणलाई भने सहज भएको पाइएको छ ।

प्रकाशित मिति : January 19, 2021 at 4:45 pm