१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पिउने पानी दूषित भेटिएपछि अदालतमा मुद्दा दायर

५ माघ, गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताउनुभयो ।

लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उहाँले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ऐनअनुसार प्रति १०० एमएलमा कोलिफर्मको मात्रा शून्य हुनुपर्दछ । उक्त प्रशोधित पिउने पानीमा कोलिफर्मको उपस्थिति पाइएकाले मुद्दा दायर गरिएको हो ।

खाद्य ऐन, २०२३ को दफा (३) उल्लङ्घन गरी दूषित प्रशोधित पिउने पानी उत्पादन गरी विक्री वितरण गरेकोले उक्त उद्योग विरुद्ध खाद्य ऐन, २०२३ दफा ५(१) बमोजिम कार्वाहीको माग गरिएको छ । उक्त ऐनअनुसार रु ५० हजार जरिवानासहित पाँच वर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । यसअघि कार्यालयले पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरीय देखिएकोले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : January 18, 2021 at 12:06 pm