१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

प्रो पब्लिकको भ्रष्टाचारः व्यक्तिको नाममा किनिएको जग्गा यसरी आयो संस्थाको नाममा

५ असार, काठमाडौँ । कुनै समयमा भ्रष्टाचार विरुद्धको अभियानमा प्रभावशाली बनेको गैरसरकारी संस्था प्रो पब्लिक आफैँ भ्रष्टाचारको दलदलमा फसेपछि पत्रकार माधवप्रसाद तिवारीले माउण्टेन टेलिभिजनमा कार्यरत रहेको समयमा मिसनन्युज कार्यक्रम मार्फत विकृतिको पर्दाफास गरेका थिए । परिवारवाद हावी भएको प्रो पव्लिकको पैसाले संस्थाका पदाधिकारी र आफन्तको नाममा जग्गा किनेको विषय २०६९ कात्तिक २६ गते सार्वजनिक भएको थियो ।

समाचारपछि संस्थाभित्रको बहसले सकारात्मक रूपलिर्इ आज त्यही प्रो पब्लिकको पैसाले व्यक्तिको नाममा किनिएको करोडौँ मूल्यको जग्गा संस्थाको नाममा आएको छ । कुलेश्वरको ३८९ नम्बर कित्ताको ७ आना २ पैसा जग्गा प्रोपब्लिको नाममा अाएपछि कर्मचारीहरु खुशी भएका छन । प्रो पब्लिकका सहायक कार्यकारी निर्देशक बाबुराम पौडेलले व्यक्तिको नाममा रहेको जग्गा संस्थाको नाममा आएको जानकारी दिएका छन ।

प्रो पब्लिकको पैसामा तत्कालीन अवस्थामा संस्थाका महासचिव, कोषाध्यक्ष र अध्यक्षको भाइको नाममा काठमाडौँको कालिमाटी क्षेत्रको कुलेश्वरमा किनिएको ७ आना दुई पैसा जग्गा अहिले संस्थाकै नाममा फिर्ता भएको हो । २०५७ साल पौष १९ गते स्थानीय लक्ष्मी गौचनसहतिको नामको जग्गा मालपोत कार्यालय कलंकीबाट पास गरि प्रो पब्लिको पैसाले खरिद गरिएको भए पनि व्यक्तिको नाममा पास गरिएको थियो ।

प्रो पब्लिकका तत्कालीन अध्यक्ष डा लेखनाथ वेलवासेका भाइ नरायण वेलवासे प्रो पब्लिककै तत्काली महासचिव एवं अहिलेका स्वघोषित कार्यकारी अध्यक्ष प्रकाशमणी शर्मा र कोषाध्यक्ष रत्नाकर अधिकारीले पदको दुरुपयोग गरी संस्थाको पैसामा आफ्नो नाममा जग्गा बनाएका थिए । २०३२ साल फागुन २९ गते कपिलवस्तुबाट नागरिकता प्राप्त गरेका प्रकाशमणी शर्मा, २०३१ साउन ९ गते काठमाडौँबाट नागरिकता प्राप्त गरेका नारायण वेल्वासे र २०४१ चैत्र ११ गते काठमाडौँबाट नागरिकता प्राप्त गरेका रत्नाकर अधिकारीले एकअर्कामा सहमति गरी संस्थाको कोषमा जम्मा भएको रकम निकाली जग्गा किनेका थिए ।

समाचारपछि संस्थाभित्र कर्मचारी र बोर्ड सदस्यले जग्गा संस्थाकै नामा ल्याउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धर्ना समेत दिएका थिए । संस्थाको उद्देश्य विपरित गएर यसरी पदको दुरुपयोग गरी संस्थाको पैसामा व्यक्तिको नाममा सम्पत्ति जोड्नु कानून विपरितको काम त हो नै त्यो भ्रष्टाचार पनि हो । संस्थाभित्र समस्या रहेकोमा प्रो पब्लिका धेरै सदस्यहरु र कर्मचारी सहमत छन् । तर, संस्थाले स्वच्छ छवीको नेतृत्व नपाउँदा दिनानुदिन प्रो पब्लिक बदनाम हुँदै गएकोमा उनीहरु चिन्तित छन् ।

माउण्टेन टेलिभिजनमा पाँच वर्षअघि प्रशारण भएको कार्यक्रम यहाँ हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : ४ असार २०७५, सोमबार २०:१६