१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

नेपाल र चीनबीच ग्रन्थ अनुवादको सम्झौता हुँदै, पाँच वर्षभित्र ५० ग्रन्थ अनुवाद गरिने

२० पुस, काठमाडाैँ । दुई देशबीचको सांस्कृतिक प्रवद्र्धनार्थ नेपाल र चीनबीच महत्वपूर्ण ग्रन्थ अनुवाद गरिने भएको छ । सो प्रयोजनका निम्ति नेपाल र चीन सरकारबीच छिट्टै सम्झौता हुने नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीले जानकारी दिनुभयो ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाइ प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउदै उपकुलपति उप्रेतीले यस्तो जानकारी दिनुभएको हो । “नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता हुँदैछ । शास्त्रीय तथा अन्य ग्रन्थ अनुवाद गरी आदानप्रदान गर्ने कार्यक्रमअन्तर्गत यस्तो सम्झौता हुन लागेको हो”, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिई संस्कृति मन्त्रालयमा हस्ताक्षरका क्रममा रहेको पनि कुलपति उप्रेतीले बताउनुभयो । चीनले नेपालसहित एशियाका सबै मुलुकसँग यस्तो सम्झौता गर्दैछ । आगामी पाँच वर्षभित्र ५० ग्रन्थ अनुवाद गरिनेछ । यसमा २५ वटा नेपाली चिनियाँ भाषामा अनुवाद गर्ने र २५ वटा चिनियाँ भाषाका ग्रन्थ नेपालले अनुवाद गरी प्रकाशन गरिनेछ ।

सन् २०१९ मा चीनमा भएको ‘एशिया सिभिलाइजेसन डायलग’ मा चीनका राष्ट्रपति सी जीनपिङले एसियाका शास्त्रीय ग्रन्थहरुको अनुवाद गरेर एकार्का मुलुकबीच आदानप्रदान गर्नुपर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरुप चीन सरकारले सात मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ ।

नेपालले अब छिट्टै सम्झौता गर्दैछ । कोभिड सामान्य भएपछि समय तालिका मिलाएर चीनको राजधानी बेइजिङमा सम्झौता गरिने कुलपति उप्रेतीले जानकारी दिनुभयो । यो सरकार सरकारबीचको कार्यक्रम हो । अहिले दुई देशबीच एकेडेमी– एकेडेमीबीच अनुवाद गर्ने काम भइरहेको छ । प्रज्ञा ९प्रतिष्ठान र चीनको संस्कृति विभागको चाइना कल्चर ट्रान्सलेशन सपोर्ट सर्भिस (सिसिटिएस) ले अनुवाद गरिरहेका छन् ।

अहिले बिपी कोइरालाको ‘दोषी चश्मा’, ‘रामायण’, महाकवि लक्ष्मीप्रसाद देवकोटाको अङ्ग्रेजी काव्य ‘शाकुन्तल’ ‘नेपाल तिब्बत चीन’ पुस्तक अनुवाद भइरहेको छ । एकेडेमी एकेडेमीबीच ‘भ्वाइस अफ नेपाल’ शीर्षकमा आधुनिक नेपालका करीब ११५ कविका कविता अङ्ग्रेजीमा अनुवाद गरी पठाएका छौँ । पाकिस्तानले उर्दू भाषामा अनुवाद गरिसकेको छ ।

प्रकाशित मिति : January 4, 2021 at 8:28 pm