राम्रो काम गर्नलाई म साथमा छुः मन्त्री ढकाल
-सिबी अधिकारी
२० पुस, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थलगत अवलोकन गरी प्रतिष्ठानको काम कारवाहीबारे जानकारी लिनुभएको छ । मन्त्री ढकाललाई प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
प्रतिष्ठानका गतिविधि र योजनाको जानकारी लिएपछि संस्कृतिमन्त्री ढकालले प्राज्ञिक क्षेत्रको उन्नयनका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानबारे जानकारी लिएर पछि थप छलफल गरौँला, राम्रो गर्नुस् , राम्रो काम गर्नलाई म साथमा छु ।”

कुलपति उप्रेतीले कोभिड महामारीका कारण प्रतिष्ठानका महत्वपूर्ण कार्यक्रम अवरुद्ध भएको र आगामी दिनमा ती कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । ‘देवकोटा सङ्ग्रहालय’, अन्तरदेशीय शास्त्रीय अनुवाद कार्यक्रम तथा ‘अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन’ जस्ता कार्यक्रम योजनाबारे पनि उप्रेतीले मन्त्रीलाई अवगत गराउनुभएको थियो । नेपाली बृहत् शब्दकोषलाई पुनः मुद्रण गरी एक लाख ५० हजार शब्द कोषको बनाइँदैछ । अबको एक वर्षभित्र कार्य सकिने जनाइएको छ ।
कुलपतिले मुलुकको समग्र पहिचान झल्कने गरी सात वटै प्रदेशका ग्रन्थ लेखन अघि बढाइएको र प्रदेश नं २ को लेखन सकिएको बाँकी प्रदेशका लागि रु तीन करोड बजेट आवश्यक पर्ने भएकाले सहजीकरणका निम्ति संस्कृतिमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । नेपाल चिनाउने मानकका रुपमा सातै प्रदेशका भूगोल, भाषासहित १० विषयमा ग्रन्थ लेखिनेछ ।
नेपाल र चीनबीच ग्रन्थ अनुवादको सम्झौता हुँदै
दुई देशबीचको सांस्कृतिक प्रवद्र्धनार्थ नेपाल र चीनबीच महत्वपूर्ण ग्रन्थ अनुवाद गरिने भएको छ । सो प्रयोजनका निम्ति नेपाल र चीन सरकारबीच छिट्टै सम्झौता हुने प्रतिष्ठानका कुलपति उप्रेतीले जानकारी दिनुभयो ।“नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता हुँदैछ । शास्त्रीय तथा अन्य ग्रन्थ अनुवाद गरी आदानप्रदान गर्ने कार्यक्रमअन्तर्गत यस्तो सम्झौता हुन लागेको हो”, उहाँले भन्नुभयो ।
मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिई संस्कृति मन्त्रालयमा हस्ताक्षरका क्रममा रहेको पनि कुलपति उप्रेतीले बताउनुभयो । चीनले नेपालसहित एशियाका सबै मुलुकसँग यस्तो सम्झौता गर्दैछ । आगामी पाँच वर्षभित्र ५० ग्रन्थ अनुवाद गरिनेछ । यसमा २५ वटा नेपाली चिनियाँ भाषामा अनुवाद गर्ने र २५ वटा चिनियाँ भाषाका ग्रन्थ नेपालले अनुवाद गरी प्रकाशन गरिनेछ ।
सन् २०१९ मा चीनमा भएको ‘एशिया सिभिलाइजेसन डायलग’ मा चीनका राष्ट्रपति सी जीनपिङले एसियाका शास्त्रीय ग्रन्थहरुको अनुवाद गरेर एकार्का मुलुकबीच आदानप्रदान गर्नुपर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरुप चीन सरकारले सात मुलुकसँग यस्तो सम्झौता गरिसकेको छ ।

नेपालले अब छिट्टै सम्झौता गर्दैछ । कोभिड सामान्य भएपछि समय तालिका मिलाएर चीनको राजधानी बेइजिङमा सम्झौता गरिने कुलपति उप्रेतीले जानकारी दिनुभयो । यो सरकार सरकारबीचको कार्यक्रम हो । अहिले दुई देशबीच एकेडेमी– एकेडेमीबीच अनुवाद गर्ने काम भइरहेको छ । प्रज्ञा ९प्रतिष्ठान र चीनको संस्कृति विभागको चाइना कल्चर ट्रान्सलेशन सपोर्ट सर्भिस (सिसिटिएस) ले अनुवाद गरिरहेका छन् ।
अहिले बिपी कोइरालाको ‘दोषी चश्मा’, ‘रामायण’, महाकवि लक्ष्मीप्रसाद देवकोटाको अङ्ग्रेजी काव्य ‘शाकुन्तल’ ‘नेपाल तिब्बत चीन’ पुस्तक अनुवाद भइरहेको छ । एकेडेमी एकेडेमीबीच ‘भ्वाइस अफ नेपाल’ शीर्षकमा आधुनिक नेपालका करीब ११५ कविका कविता अङ्ग्रेजीमा अनुवाद गरी पठाएका छौँ । पाकिस्तानले उर्दू भाषामा अनुवाद गरिसकेको छ ।
देवकोटा सङ्ग्रहालय बन्दै
महाकवि देवकोटाको जन्मघर ‘देवकोटा कविकुञ्ज’लाई आधुनिक सङ्ग्रहालयका रुपमा विकास गर्न प्रतिष्ठानले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मन्त्रालयलाई बुझाएको छ । करीब रु पाँच करोड लागतमा पहिलो चरण र बाँकी काम गर्न करीब रु छ करोड गरी जम्मा रु ११ करोड ५० लाख लागत रहने छ ।
चारतले भवन दुई वर्षभित्र सक्ने गरी योजना बनाइएको छ । भवनको बाहिर देवकोटाको प्रतिमा र भुइँतलामा डबली रहनेछ । पहिलो तलामा देवकोटाको अडियो भिडियो, दोस्रो तलामा देवकोटाले प्रयोग गरेका सामग्री, चौथो तलामा देवकोटाका प्रकाशित कृति रहनेछन् । प्रतिष्ठानले पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने लक्ष्य लिएको छ । भानुजयन्तीका अवसरमा सम्मेलन गर्ने योजना रहेको जनाइएको छ । कोरोना सामान्य भएपछि सम्मेलन गरिने प्रतिष्ठानले उल्लेख गरेको छ । रासस

प्रकाशित मिति : January 4, 2021 at 8:17 pm



