१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

३ पुस, काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो । सरकारले संसद् अधिवेशन छलेर सो अध्यादेश ल्याएको कांग्रेसको आरोप छ ।

बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा भएका अनियमितता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाही गर्न माग गरेको उहाँले बताउनुभयो ।

कांग्रेसले उखु किसानको बक्यौता रकम चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुठो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्सर्ना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।

प्रकाशित मिति : December 18, 2020 at 2:50 pm