बालिका बलात्कार गर्ने सप्तरीका रामलाई ८ वर्ष कैद सजाय
३० मंसिर, सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले आरोपितलाई आठ वर्ष कैद सजायका साथै रु १० हजार जरिवानाको फैसलासमेत भएको बताउनुभयो ।

शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्र्षीया बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिनुभएको थियो ।
पटक–पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताउनुभयो । प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेकामा अदालतको आदेशमा २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको छ ।
प्रकाशित मिति : December 15, 2020 at 10:34 am



