दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी
३ असार, दाङ । जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ ।
सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मोतिविन्दुरहित गाउँ शहर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले सो परियोजना ल्याएको बताइएको छ । जसअन्र्तगत तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात वटै गाउँपालिकासँग समन्वय गरिरहेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताउनुभयो । स्थानीय निकायको ६० प्रतिशत र अस्पतालको ४० प्रतिशत सहभागितामा यस्तो उपचार सेवा शुरु गर्न लागिएको हो ।
जसअन्र्तगत विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर राख्ने र त्यहाँ भेटिएका बिरामीलाई अस्पतालमा शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । एउटा व्यक्तिको मोतिविन्दुको शल्यक्रियाका लागि रु आठ हजार रकम लाग्ने र सो मध्ये स्थानीय निकायले ६० प्रतिशत र अस्पतालले ४० प्रतिशत रकम व्यहोर्ने गरी कार्यक्रम तयार पारिएको छ । जसले गर्दा पैसाको अभावले न्यून दृष्टियुक्त भएर बस्नु नपर्ने नेत्रज्योति संघले जनाएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिकाको १९ वटा वडामा एक लाख ५६ हजार जनसंख्यामा एक हजार ५८४ जनामा मोतिविन्दु रहेको पाइएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका सबै वडाभित्र रहेको एक लाख ४१ हजार जनसंख्यामा एक हजार ४३५ जनामा मोतिविन्दुको समस्या रहेको छ । त्यसैगरी, लमही नगरपालिकाभित्र ४८३, राजपुर गाउँपालिकामा २५४, गढवा गाउँपालिका ३९१ र राप्ती गाउँपालिकामा ४१३ जना मोतिविन्दुको समस्या रहेको छ । अस्पतालले प्रत्येक वर्ष २४ हजार बढीको आँखा रोगीको आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताउनुभयो ।
प्रकाशित मिति : ३ असार २०७५, आईतवार ०८:५३