धादिङकी एक महिलाले जन्माइन् एकैपटक तीन शिशु
२५ मंसिर, धादिङ । धादिङको जिल्ला अस्पतालमा १ महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार तीन छोरीलाई जन्म दिएकी हुन्। धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको अस्पतालले जनाएकाे छ।

शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य,डा.सविन भण्डारी, स्वास्थ्यकर्मी लेखबहादुर श्रेष्ठ, स्टाफ नर्सहरू विमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल लगायत खटेका थिए। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ। शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए।
प्रकाशित मिति : December 10, 2020 at 10:44 am



