लोक सेवा आयोगले एकै पटक माग्यो यति धेरै शाखा अधिकृत (सूचनासहित)
२४ मंसिर, काठमाडौँ । लोक सेवा आयोगले ५ सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ। बुधबार आयोगले सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी ५ सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । तर दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको विज्ञापनमा १ सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ। न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।


प्रकाशित मिति : December 9, 2020 at 11:05 am



