१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने


२३ मंसिर, काठमाडाैँ । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो ।

रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १६:१६

https://srdb.com.np/