१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चन्द्रागिरिमा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान शुरु

२३ मंसिर, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् ।

अभियानलाई आगामी दिनमा कसरी सार्थक बनाउने र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।

उहाँले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफूले पनि सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जो जहाँ छौँ, त्यहीँबाट सहयोगी मन लागौँ, असम्भव भन्ने केही छैन ।”

सो अवसरमा वडा नं १२ का अध्यक्ष श्रेष्ठले प्रस्तावित ५५ रोपनी जमीन उपयुक्त भएमा सहयोग गर्ने जानकारी दिनुभयो । राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष सञ्जय सिग्देल, युवा व्यवसायी राजेश घिमिरे, माधव अधिकारी, राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : December 8, 2020 at 1:49 pm